२०८३ साउन १९ गते
काठमाडौं । बैंक तथा वित्तिय संस्थाले गत आर्थिक वर्ष २०८२÷०८३ को चौथो त्रैमासको वित्तिय विवरणहरु धमाधम प्रकाशन गरिरहेका छन् ।
धेरै जसो वित्तिय संस्थाहरुले नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरिरहदा सिद्धार्थ बैंकले पनि नाफा कमाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष साढे ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको गत आवको अपरिस्कृत वित्तीय विवरणमा निष्क्रिय कर्जामा वृद्धि भएर कर्जा नोक्सानी व्यवस्था बढेपनि व्यवसाय र नाफा दुवैमा सुधार गरेको छ । गत आबमा बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) २८.४३ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आबमा बैंकको कर्जा नोक्सानी व्यवस्था १ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा निष्क्रिय कर्जा २.६२ प्रतिशतबाट बढेर ३।५३ प्रतिशत पुगेका कारण बैंकले सम्भावित जोखिमका लागि छुट्याएको रकम पनि बढेको छ ।
यस्तै लगानीकर्ताको चासोको विषय रहेको प्रतिसेयर आम्दानी पनि बढेको छ । नाफा बढ्दा बैंकको बैंकको प्रतिशेयर आम्दानी २२.७६ रुपैयाँबाट बढेर २३.०६ रुपैयाँ पुगेको छ ।१४ अर्ब ७९ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ३ अर्ब ५० करोड रुपैयाँको प्रिफरेन्स सेयर जारी गरी सेयर क्यापीटल १८ अर्ब २९ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । जगेडाकोषमा १६ अर्ब ९२ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँ छ ।
प्रतिक्रिया