२०८२ असोज ३१ गते
गौरव देवकोटा । नेपालको राजनीतिक इतिहासमा हरेक पुस्ताको संघर्ष र बलिदानी छ । अहिले बृद्ध भनिएका राजनीतिक दलका नेताहरु पनि कुनै बेलाका युवा थिए । तिनै यूवाहरुको संघर्ष, बलिदानी नै आजको ‘जेनजी मुभमेन्ट’ को जग हो । यसकारण पनि प्रत्येक पुस्ताका युवाको संघर्षलाई इतिहासले नजर अन्दाज गर्न मिल्दैन ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६२र६३ को जन आन्दोलनसम्म सधै विद्यार्र्थी र युवाहरू नै अग्रपंक्तिमा आए । आजका यो अवस्थासम्म आइपुग्न तिनै युवाको रगत र पसिना बगेको साँचो हो । तर अहिलेको पुस्ता जेनजी अर्थात सन् १९९७ पछि जन्मिएका युवाहरू, फरक युगका पुस्ता भएका छन् किनभने इन्टरनेट, सोशल मिडिया र विश्वव्यापी सूचना–प्रवाहले उनीहरूको चेतना, राजनीतिक दृष्टि र सहभागिताको स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । यो पूस्ता डिजिटल प्लेटफर्म मार्फत आफु जस्ता अन्य यूवासँग विचार बाढ्न सक्छन् । पार्टीको झण्डा भन्दा पनि देशको झण्डा मुनि बसेर संवाद गर्न सक्छन् । अझ भनौ डिजिटल संवाद र प्रत्यक्ष सहभागितामा यिनीहरुले विश्वास राख्छन् ।
भ्रष्टाचार र नेतृत्वको अकर्मण्यता विरुद्ध बोल्न नसक्दाको परिणाम
नेपालमा राजनीतिक परिवर्तनको नेतृत्व प्रायः विद्यार्थी आन्दोलनले नै गरेको देखिन्छ । नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी०, समाजवादी विद्यार्र्थी फोरमजस्ता सङ्गठनहरूले लोकतन्त्रका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छन् । विद्यार्थी आन्दोलनलाई राजनीतिको नर्सरी पनि भनिन्छ । अधिकांश नेतृत्वहरुको उदय यहि नर्सरीबाटै भएको पनि देखिन्छ । यी संगठनले युवालाई नेतृत्व सिकाउँने, वाद–विवाद गर्ने र समाजमा हस्तक्षेप गर्ने अवसर दिए । तर समयसँगै, यी संस्थाहरू दलगत नियन्त्रणमा गहिरिएर वैचारिक भन्दा पनि सत्ता–केन्द्रित प्रतिस्पर्धाको थलो बनाए । आफ्नो उदेश्यबाट विचलित भइ माउ पार्टीका नेतृत्वको चाकडीमा लागे । नयाँ विचार ल्याउने, स्वतन्त्र आवाज उठाउने, भ्रष्टाचार वा नेतृत्त्वको अकर्मण्यता विरुद्ध बोल्ने साहस यस्ता नेतृत्वमा हराउँदै गयो । फलस्वरुप युवापुस्तामा राजनीतिक संगठनप्रति गहिरो असन्तोष र वितृष्णा पैदा हुँदै गयो ।
अनि जन्मियो जेनजी मुभमेन्ट
विद्यार्थी नेतृत्वप्रतिको असन्तोष र समयको परिवर्तनसँगै जेनजी आन्दोलन जन्मिएको हो। जेनजी विद्यार्थीहरू परम्परागत सङ्गठनका अनुयायीभन्दा बढी स्वतन्त्र विचारको खोजीमा छन् । उनीहरूका लागि राजनीति केवल पार्टीको प्रचार होइन — साझा समस्या समाधान गर्ने माध्यम पनि हो ।पछिल्लो समय स्वतन्त्र रुपमा भएको दल दर्ता, स्वतन्त्र उम्मेदवारहरूको उदय, स्थानीय तहमा युवाको सक्रियता र सामाजिक मुद्दामा आधारित अभियानहरूले नयाँ राजनीतिक चेतनाको संकेत दिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आक्रोश पनि यहि चेतनाको परिणाम हो । यद्यपि आन्दोलन विध्वंसात्मक बनाएर जेनजी मुभमेन्टलाई बदनाम बनाउँने तत्वहरुको सक्रियता पनि प्रशस्तै देखियो ।
राजनीतिक जागरण पुराना विद्यार्थी सङ्गठनहरूको विकल्प मात्र होइन, चेतनाको परिष्कृत रूप हो । लोकतन्त्रलाई बचाउने र सुधार गर्ने जिम्मेवारीलाई जेनजीले आफ्नो प्राथमिकतामा राखेका छन् । तथापि सही परामर्श दिन नसक्दा कही कतै दोधारे प्रवृति पनि देखिएको छ । स्वतन्त्र नागरिक समूह, स्वतन्त्र युवा अभियन्ताहरू, सामाजिक सञ्जालमा सक्रिय जेनजी सबैले आफूलाई जेनजीको असली प्रतिनिधिको दाबी गरिरहेको छन् ।
पुराना विद्यार्थी सङ्गठनभित्रको चुनौती र अवसर
पुराना विद्यार्थी सङ्गठनहरू दशकौँदेखि पार्टी नेतृत्वका अनुशरमा सीमित भएका कारण, तिनको विश्वसनीयतामा आँच आएको हो । नेतृत्वका लागि खुला प्रतिस्पर्धा छैन, निर्णयहरू नेतृत्वबाट लादिन्छन्, र भ्रष्टाचारविरुद्ध आवाज दबिन्छ । जेनजी समूहहरूले यही संरचनाभित्र प्रवेश गरेर पुरानो नेतृत्त्वलाई आन्तरिक रूपमा चुनौती दिने अवसर पाएका छन्। उदाहरणका लागि, नेविसङ्घका धेरै युवा सदस्यहरूले हालै केन्द्रीय नेताहरूको निर्णयविरुद्ध सामाजिक सञ्जालमार्फत असहमति जनाएका छन्। अनेरास्ववियुभित्र पनि नेताको नियुक्ति र संगठनात्मक एकाधिकारविरुद्ध आवाज उठ्न थालेका छन्। यही आन्तरिक लोकतन्त्रको माग नै जेनजी आन्दोलनको हो जुन पुराना विद्यार्थी सङ्गठनहरूले बिर्सिसकेका थिए।
साझा लक्ष्य र अक्षम नेताहरूलाई विस्थापन
जेनजी आन्दोलनका विभिन्न धारहरूबीच विचार र रणनीतिमा फरक भए पनि एउटा साझा उद्देश्य स्पष्ट छ — दशकौँदेखि नेतृत्व छोड्न नमान्ने पुराना, अक्षम र अविश्वसनीय नेताहरूलाई विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ।विभिन्न पार्टीका विद्यार्थी सङ्गठनहरूभित्र र बाहिर रहेका जेनजी समूहहरूले पार्टीभित्र नै सुधारका लागि दबाब सिर्जना गर्न सक्नेछन्। साथै, स्वतन्त्र जेनजी समूहहरूले बाहिरबाट निगरानी र जनदबाब सिर्जना गर्न सक्छन्। भित्रबाट सुधार र बाहिरबाट दबाब — यही दुईतर्फी रणनीतिबाट मात्र पुरानो राजनीतिक संस्कृति परिवर्तन सम्भव छ।
जेनजी मुभमेन्टकै दुरुपयोग हुने खतरा
पुराना नेताहरूले जेनजीको नाम र छवि ‘फेसलिफ्ट’ का लागि प्रयोग गर्ने, तर वास्तविक परिवर्तन नगर्ने प्रयास गर्न सक्छन्। त्यसैले जेनजी समूहहरूले स्वतन्त्रता, पारदर्शिता र जवाफदेहितामा अडिग रहनु जरुरी छ। विभिन्न जेनजी समूहहरूले पार्टी आन्तरिक लोकतन्त्र, भ्रष्टाचारविरुद्ध कठोर नीति, पारदर्शी उम्मेदवारी चयन, नेतृत्व परिवर्तन जस्ता न्यूनतम साझा एजेन्डा तय गर्न सके भने नीतिगत मतभेद रहँदै पनि तिनीहरूले साझा राजनीतिक सुधारमा एकताबद्ध शक्ति देखाउन सक्छन्।
जेनजीको साझा गन्तव्य
नेपालको राजनीतिक रूपान्तरणको ऐतिहासिक मोडमा छ। पुराना विद्यार्थी सङ्गठनहरू परिवर्तनका उपकरण होइन, बाधा बन्न थालेका छन्। त्यसैले नयाँ जेनजी समूहहरूको उदय अपरिहार्य पनि हो । यदि यी समूहहरूले आन्तरिक लोकतन्त्र, पुरानो नेतृत्वको विस्थापन, र स्वच्छ राजनीतिक संस्कृतिको निर्माणमा केन्द्रित रहन सके धेरै जेनजी समूहहरूको उपस्थिति कमजोरी होइन — लोकतान्त्रिक पुनर्जागरणको आधार हुनेछ। अन्ततः, लोकतन्त्र एउटै स्वरमा सीमित हुँदैन। विविध स्वरहरूले साझा लक्ष्यतर्फ अघि बढ्दा मात्रै राजनीतिक प्रणाली जीवन्त रहन्छ। आज नेपालका युवाहरू, विशेषगरी जेनजी पुस्ता, यही बाटोतर्फ दृढतापूर्वक अघि बढिरहेका छन्।
प्रतिक्रिया