२०८३ जेठ ११ गते
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ ।
जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ ।
गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ ।
गाउँपालिकाको केन्द्र रहेको वडाबाट नै सडकलाई स्तरोन्नति गर्दै लैजाने योजना अनुसार गाउँपालिको केन्द्रबाट वडा नं १ तथा वडा नं ७ दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको छ ।
निर्माण कम्पनीले ठेक्का कबोल गरेका कामको ७५ प्रतिशत भन्दा बढी काम गरिसकेको र बाँकी काम पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने उनले बताए । ‘सबै वडामा अत्यावश्यक ठाउँमा सुधारको काम भइरहेको छ, धेरै काम भने वडा नं ४, ५ र ३ मा भइरहेको छ’, कार्कीले भने ।
सडक गाउँपालिकाको मेरुदण्डको रूपमा रहेकाले गौरवको योजनाको रूपमा राखिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।सडक नहुने हो भने सर्वसाधारणलाई गाउँपालिका आउनै दिनभरि लाग्ने अवस्था रहेकाले पनि सडकलाई प्राथमिकतामा राखिएको सुनुवारले बताए ।
निर्माण भएको सडकको स्थलगत अनुगमन र नापजाँचको काम भइरहेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताइन् ।वडा नं १ र २ मा भएको कामको स्थलगत अनुगमन तथा नाप जाँचको काम सम्पन्न गरिएको उनले जनकारी दिइन् ।
प्रतिक्रिया