२०८१ भदौ ०४ गते
काठमाडौं । एक महिनामा साढे ८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा ९० वटा परियोजनाका लागि ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । साउनमा साना ५७ वटा उद्योग दर्ता भएका छन् भने २ वटा ठुला उद्योग छन् । सोही उद्योगका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो ।
विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए)र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)क्षेत्रका लागि १७ वटा परियोजनका लागि लगानी स्वीकृत भएको छ। सो परियोजनामा ३१ करोड २० लाख १२ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । चालु आवको साउनमा मात्रै आएको वैदेशिक लगानी प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आएपछि ३२३ जनाले रोजगार पाउने विभागले जनाएको छ ।
विभागका अनसार हालसम्म भने कुल ६ हजार ४९६ वटा परियोजना मार्फत ५ खर्ब २९ अर्ब १६ करोड २२ लाख ६७ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग मार्फत ३ लाख ३४ हजार ६२४ जनाले रोजगार पाउने विभागले जनाएको छ ।
साउनमा आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका छन् । पर्यटन क्षेत्रका ४० वटा उद्योग दर्ता भएका हुन् । विभागका अनुसार सेवा क्षेत्रमा १२ वटा, उत्पादनमा ३ वटा, सूचना प्रविधिमा २ वटा, कृषिमा २ वटा उद्योग दर्ता भएका हुन् ।
चालु आवको साउनमा रोयल्टी मार्फत भने झन्डै ५० करोड रुपैयाँ बाहिरिएको छ । नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले साउनमा ४९ करोड ९४ लाख ५७ हजार रुपैयाँ रोयल्टी लगानी हुन् । यस्तै, लाभांश बापत पनि २० करोड ३० लाख रुपैयाँ बाहिरिएको छ ।
प्रतिक्रिया