प्रधानमन्त्रीलाई सभामुखको रुलिङ, भदौ ९ मा संसदमा उभिएर जवाफ देलान् बालेनले ?

२०८३ भदौ ०२ गते

प्रधानमन्त्रीलाई सभामुखको रुलिङ, भदौ ९ मा संसदमा उभिएर जवाफ देलान् बालेनले ?

काठमाडौं । लामो समयदेखि संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै आएको विपक्षीको माग अन्ततः सभामुख डिपी अर्यालको रुलिङसम्म पुगेको छ । सभामुख अर्यालले सोमबार प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।

 

Advertisement:

Ad
Ad

यससँगै आगामी भदौ ९ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि समयसमेत निर्धारण गरिएको छ । तर, प्रश्न अब उठेको छ– सभामुखको रुलिङपछि प्रधानमन्त्री बालेन शाह संसदमा उभिएर सांसदका प्रश्नको सामना गर्लान्रु

 

प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले ७८ दिनसम्म लगातार विरोध गर्दै आएका थिए । भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि विपक्षीहरूले त्यसबारे स्पष्ट जवाफ माग्दै संसद अवरुद्ध गर्दै आएका थिए । प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुको सट्टा कतिपय प्रश्नको जवाफ अन्य मन्त्रीमार्फत दिँदै आएका थिए ।

 

यसबीच सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा ल्याउन पटक–पटक अनौपचारिक प्रयास गरे । प्रधानमन्त्रीसँग भेटेर सदनमा सम्बोधन गर्न आग्रहसमेत गरे । तर, ती प्रयास सफल नभएपछि अन्ततः सभामुखले संसदको रोष्ट्रमबाटै औपचारिक रुलिङ गरेका हुन् ।

 

सभामुखले प्रधानमन्त्रीसँगै जाजरकोट भूकम्प प्रभावित क्षेत्र तथा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउने विषयमा उठेका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्रीलाई तीन दिनको समय पनि तोकेका छन् ।

 

यसले सभामुख अर्याल पछिल्लो समय सरकारलाई संसदप्रति जवाफदेही बनाउने भूमिकामा आक्रामक बन्दै गएको संकेत गरेको छ । तर, विगतमा प्रधानमन्त्रीले संसदमा उपस्थित हुन देखाएको अनिच्छालाई हेर्दा भदौ ९ गते सभामुखको रुलिङ कार्यान्वयन हुन्छ कि फेरि प्रधानमन्त्रीको अनुपस्थितिको नयाँ अध्याय सुरु हुन्छ, त्यसको परीक्षा अब प्रधानमन्त्री बालेनकै हुनेछ ।