२०८१ साउन २७ गते
काठमाडौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम सुरु भएको छ। भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा अवस्थित यो रंङ्गशाला निर्माण सुरु गरेको हो।
प्यारापिट मुनि ढुङ्गाको सोलिङको काम तीव्र गतिमा भइरहेको महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यले बताए। प्रमुख आचार्यका अनुसार निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको परीक्षण महानगरपालिकाको प्रयोगशालामा भइरहेको छ भने रडको परीक्षण काठमाडौं पठाइएको छ। निर्माण कम्पनीका प्राविधिक र कर्मचारीले फिल्डमा काम सुरु गरिसकेका छन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कम्पनीका प्रमुख र प्राविधिकलाई निर्धारित समयमा काम पूरा गर्न अनुरोध गर्दै नगरपालिकाबाट हरसम्भव सहयोगको प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले कुनै समस्या आएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्। निर्माणको सहजीकरणका लागि महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गर्ने योजना बनाएको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालामा १० हजार दर्शक बस्न मिल्ने प्यारापिटसहितको मैदान तयार गरिने छ। रङ्गशाला निर्माणको लागत रु ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रहेको छ र निर्माण २०७९ पुस २२ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता भएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारले रु २५ करोड र भरतपुर महानगरपालिकाले रु ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन्। बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ।
धुर्मस सुन्तली फाउण्डेशनले सुरुमा पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ, जसका लागि २८६ वटा पिलर खडा गरिसकेका छन्। रङ्गशालाले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा समेटेको छ।
प्रतिक्रिया