२०८३ भदौ १५ गते
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटेल परिसरमा राखिएको चन्दा बाकसमा उक्त रकम संकलन भएको हो ।चन्दा बाकस प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यको रोहवरमा खोली रकम गणना गरिएको थियो ।
संकलित रकममा खड्का होटेल परिवारले थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । होटेल परिवारले थप गरेको रकमसहित कुल ८ लाख ६९ हजार ६१८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।
स्वर्गीय शिवराजको योजनालाई निरन्तरता
सामाजिक सेवाका लागि स्वर्गीय शिवराज खड्काको योजनाअनुसार राखिएको चन्दा बाकसमा सर्वसाधारणले स्वेच्छाले रकम सहयोग गर्दै आएका थिए । तीन वर्षपछि बाकस खोलेर गणना गर्दा ठुलो रकम संकलन भएको पाइएको हो ।
१० भदौमा धादिङ, नुवाकोट, रसुवा, गोरखा, चितवनलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको खड्का होटेल परिवारले जनाएको छ ।
विपद्मा परेका नागरिकलाई सहयोग गर्न सर्वसाधारणले गरेको योगदानमा होटेल परिवारले समेत रकम थप गरी सहयोग गर्न लागेको हो । यसले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया