२०८२ जेठ ०४ गते
काठमाडौँ । भ्रष्टाचार आरोप लागेर अनुसन्धानमा तानिएकी कांग्रेस नेतृ एवं सांसद मञ्जु खाँडलाई नै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका समयमा भएको अनियमितताको छानबीन समितिको सदस्य बनाइएको छ । निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा खाँण चयन भएकी हुन् ।
मञ्जु खाँड नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर गैरकानुनी रुपमा अमेरिका पठाउने कसुरमा पक्राउ परेका तत्कालिन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडकी पत्नी हुन् । मञ्जु खाँडले उक्त प्रकरणमा पैसा लेनदेन गरेको भन्दै विभिन्न अडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । श्रीमान् पक्राउ परेपछि मञ्जु लामो समयसम्म संसदमा जानकारी नदिई गयल भएकी थिइन् ।
सार्वजनिक लेखा समितिको उपसमितिमा एमालेका योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसका श्यामकुमार घिमिरे र मञ्जु खाँण, रास्वपाका मनिष झा, राप्रपाका विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।
यसअघि उक्त उपसमितिको संयोजक सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थिए । उनी नेतृत्वको उपसिमितिले रूपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो ।
आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।अनुसन्धानको घेरामा रहेकी मञ्जु खाँडलाई नै गौतम बुद्ध विमानस्थलमा भएको अनियमितता अनुसन्धानको नाइके बनाएसँगै चोरलाई चावी दिएको भन्दै व्यंग्य गरिएको छ । साथै यसले सरकार सुशासनमा कति जिम्मेवार र प्रतिवद्ध छ भन्ने छर्लङ्ग भएको छ ।
प्रतिक्रिया