२०८३ वैशाख ०८ गते
काठमाडौं । पछिल्लो समय बजारमा केराको मूल्य अचाक्ली बढेको छ । महंगीको मारमा परेका उपभोक्ताहरुको गुनासो बढीरहदा किसानहरुले पनि आफ्नो उत्पादनको उचित मूल्य पाएका छैनन ।
केरा उत्पादन गर्नेहरुको संस्था नेपाल केरा उत्पादक महासंघले किसानहरुले बढीमा ८५ रुपैयाँसम्ममा प्रति दर्जन केरा बिक्रि गरिरहेको खुलासा गरेको छ । तर यता उपभोक्ताहरुको हातमा पर्दा एक दर्जनकै ४ सय रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।
महासंघका अनुसार अहिले बजारमा केराको खुद्रा मूल्य प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । एकातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने अर्कोतिर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको जनाएको छ ।
किसानले बारीबाट स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा र हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँमा बिक्री गरिरहेको भए पनि उपभोक्ताले यही केरा ३५० देखि ४०० रुपैयाँसम्ममा किन्नुपरेको महासंघको भनाइ छ । यसले बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेप रहेको स्पष्ट देखाएको महासंघको भनाई छ ।
महासंघले नेपालको सन्दर्भमा केरा केवल फलफूल मात्र नभई आत्मनिर्भर कृषिको आधार भएको उल्लेख गर्दै अधिकांश फलफूल आयातित भए पनि केरा यस्तो बाली भएको बताएको छ, जसमा नेपाल आत्मनिर्भर बन्न सक्ने बलियो सम्भावना रहेको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघले केराको समर्थन मूल्य तोक्न माग गरेको छ ।
प्रतिक्रिया