यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला

२०८२ पुस ३० गते

यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला

काठमाडौं । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भएको छ।
बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।

 

Advertisement:

Ad
Ad

घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रुवर्गमा पारेको असुविधाप्रति बुद्ध एयरले क्षमाप्रार्थी गरेको जनाएको छ।