२०८१ कात्तिक १० गते
काठमाडौ । बाढी र पहिरोका कारण पुगेको क्षतिमा हालसम्म बिमा कम्पनीहरुमा साढे ९ अर्ब रुपैयाँ भन्दा बढीको माग दाबी परेको छ । दाबी गर्ने क्रम अझै जारी रहेकाले यो अंक अझै बढ्न सक्ने देखिन्छ । नेपाल बिमा प्राधिकरणको कात्तिक ६ गतेसम्मको तथ्यांक अनुसार बिमा कम्पनीहरुमा कुल ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको माग दाबी परेको हो । गत असोज १० पछि गएको बाढी तथा पहिरोका कारण भएको क्षतिको ३ हजार ३ सय ६ वटा मागदाबी परेको हो ।
कात्तिक ६ गतेसम्म ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको मात्रै बिमा दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यो रकम अग्रीम दाबी भुक्तानी सहितको हो । गत मंगलबारसम्म २६१ वटा दाबीको मात्र भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ । हालसम्म माग दाबी पर्नेमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्सुरेन्स रहेको छ । यस कम्पनीमा ४२७ वटा माग दाबी परेकोमा हालसम्म १५९ वटा भुक्तानी भएको छ । जसअनुसार यस कम्पनीमा ९८ करोड ८१ लाख ४७ हजार रुपैयाँ बराबरको माग दाबी परेकोमा हालसम्म २१ करोड ५० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्सुरेन्समा परेको छ। यो कम्पनीमा ४८५ वटा दाबी परेको छ । जसमा कम्पनीले २ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ । हालसम्म कम्पनीले ३३ वटा दाबीको ४ करोड १७ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ।सबैभन्दा धेरै सम्पत्ति बिमाअन्तर्गत माग दाबी परेको छ । यसमा १ हजार ६३५ वटा संख्यामा ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ बराबरको माग दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै भुक्तानी पनि यसैमा भएको छ । हालसम्म यस बिमामा १३५ वटा माग दाबीको २६ करोड ७२ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
प्राधिकरणले छिटो र सरल रुपमा दाबी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिएपनि दाबी संख्याको आधारमा फछ्यौंट रकम अझै पनि कम छ ।



प्रतिक्रिया