२०८० माघ १० गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।
आज भएको भेटमा बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै यसमा आपसी सहभागिताको विषय उठाएका थिए । जवाफमा शाहले प्राविधिक सहयोग गर्न सकिने बताएका हुन् ।
सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुने उनको विश्वास थियो । भेटका क्रममा ब्रोकेटले, नगरबिचको भगिनी सम्बन्धबाट जनताहरु आपसमा नजिक हुने बताए । ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा दिए ।
काठमाडौँ महानगरपालिकासँग अन्तरराष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ ।
प्रतिक्रिया