२०८२ मंसिर ११ गते
काठमाडौँ। उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ। भेपमार्फत गराइएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले बुधबार धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्ग भेपभित्र लुकाइएका सुनसहित पक्राउ परेपछि महरा संलग्न रहेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
महराले घटनामा कुनै लगानी वा संलग्नता नभएको दाबी गर्दै आएका छन्। सो प्रकरणमा सरकारी वकिलले सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐनअन्तर्गत मुद्दा दर्ता गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।
प्रतिक्रिया