प्रचण्डलाई भाषण गर्न रोकेर प्रश्न गर्ने जनार्दन को हुन् ?

२०८२ जेठ १८ गते

प्रचण्डलाई भाषण गर्न रोकेर प्रश्न गर्ने जनार्दन को हुन् ?

काठमाडौँ । शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई भाषणको बीचमै रोकेर प्रश्न गर्ने जनार्दन अधिकारी माओवादीको निर्घात कुटाईबाट जोगिन पुगे । सामाजिक सञ्जालमा अहिले सार्वजनिक भिडियोमा स्थानीय माओवादी कार्यकर्ताको कुटपिटपछि प्रहरीले भीडबाट जनार्दनलाई जोगाएको देखिन्छ । कुटपिटबाट जनार्दनको नाकमा र मुखमा चोट लागेको छ । प्रचण्डलाई भाषण गर्नै रोकेर प्रश्न गर्ने युवा सूर्यगढी–२, नुवाकोटमा राप्रपाको पार्टी सचिव हुन् । हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका जनार्दन एक केबल कम्पनीमा कार्यरत गर्छन् । शनिबार कार्यक्रम भैरहेको श्री बागेश्वरी माध्यमिक विद्यालयको उनी पूर्व विद्यार्थी हुन् । उनले बेला बेलामा विद्यालयलाई आर्थिक सहयोग गर्दै आएका थिए सोही कारण शनिबार उनलाई विद्यालयले निम्तो पठएर माला लगाई सम्मानित गरेको थियो । 

 

Advertisement:

Ad
Ad

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनका क्रममा राजतन्त्र र गणतन्त्रको समय तुलना गर्दै अहिले नेपाली नागरिकको स्वास्थ्य, शिक्षा, पुर्वाधार लगायत धेरै कुरामा सुधार भएको बताएका थिए । उनले राजावादीले केही मान्छेलाई भाडामा ल्याएर उफार्दैमा ठूलो  संघर्ष र बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई खतरा आइसक्यो भन्नुचाहिँ सत्य नभएको बताएका थिए । सरकारको नेतृत्वमा रहेकाहरूले राम्रोसँग जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा असन्तुष्टि र आक्रोश देखिएको त्यसैको जगमा राजावादीहरु खेल्न खोजेको अभिव्यक्ति दिएका थिए । प्रचण्डले नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या गर्नेहरूले आएर देश बनाउँछन् भन्ने कुरामा नपर्न आग्रह गरेका थिए । उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर एक ठाउँमा आएर खबरदारी गर्नेबित्तिकै राजावादीहरूको केही नरहने बताएका थिए ।

 

प्रचण्डले यति बोल्दै गर्दा जनार्दनले एकाएक प्रचण्डमाथि प्रश्न तेर्स्याएका थिए । खासमा जनार्दनले प्रचण्डलाई माओवादीले जनयुद्धकालमा लिएको शिक्षा नितीले बुर्जुवा शिक्षा नपढाउने भन्दै विद्यालय बन्द गरेको भएपनि अहिले सोही पार्टीका कार्यकर्ताले व्यापारिक ढंगले निजी विद्यालय चलाएको, पूँजिपतीहरुसँगको उठबस गर्दै आफ्नो स्वार्थ पूर्तीमा लागेको र तमाम देशका समस्या ज्युँका तिहुँ रहेको भन्ने आशयको प्रश्न गर्न खोजेका थिए । गणतन्त्रका लागि योगदान गरेको सुनाउँदै आएका प्रचण्डले भनेको जस्तो गणतन्त्र आएपछि जनताको जिवनस्तरमा कुनै परिवर्तन नभएको उनको जिकिर थियो  ।