अर्थमन्त्री वाग्लेले आज भारतीय उद्योगपतिसँग छलफल गर्दै

२०८३ असोज ०३ गते

अर्थमन्त्री वाग्लेले आज भारतीय उद्योगपतिसँग छलफल गर्दै

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नेछन्।

अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान ९ः३० बजे नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement:

Ad

परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा.वाग्ले सहभागी हुने छन्।

सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीहरूलाई लगानी विस्तार गर्न आह्वान गर्नेछन् ।

साथै, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरूसमक्ष स्पष्ट पार्नेछन्।

अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसङ्घले जनाएको छ ।