२०८३ साउन ३० गते
काठमाडौं । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता ल्याउन जारी मानक उपचार प्रोटोकल ९एसटीपी० लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा। पवनजंग रायमाझीसहित सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए।
विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका व्यावहारिक पक्ष, समस्या तथा सुधार गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै प्रोटोकल निर्माण गर्दा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।
डा। रायमाझीका अनुसार आवश्यकता पहिचान गरी हालसम्म १९ वटा उपचार प्रोटोकल तयार गरिएको छ। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामा रहेका छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई पनि समयअनुकूल परिमार्जन गरी एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
स्वास्थ्य उपचारका क्रममा आवश्यकताभन्दा बढी सीटी स्क्यान, एमआरआईलगायत परीक्षण गराउने प्रवृत्तिले बिरामीको आर्थिक भार बढाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रमको खर्चसमेत बढाउने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गराउने गरी स्पष्ट प्रोटोकल बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ।
प्रोटोकलको प्रभावकारी कार्यान्वयन तथा समयानुकूल परिमार्जनबाट अनावश्यक स्वास्थ्य परीक्षण र महँगा औषधिको प्रयोग घट्ने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च कम हुनुका साथै सरकारी स्वास्थ्य कोषको दुरुपयोग नियन्त्रण गर्न र स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया