मुग्लिन नजिकैको तुइन खोलाको पहिरो पन्छाउन नसक्दा हजारौँ यात्रु अलपत्र,एम्बुलेन्स बाटैमा रोकिए

२०८२ असोज ०४ गते

मुग्लिन नजिकैको तुइन खोलाको पहिरो पन्छाउन नसक्दा हजारौँ यात्रु अलपत्र,एम्बुलेन्स बाटैमा रोकिए

चितवन । शुक्रबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाउन कठिनाई हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।

 

Advertisement:

Ad
Ad

पहिरोले १०० मिटर जती सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो ।


उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

 

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा अबको केही समयमा  सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।

 

शुक्रबार साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् ।
काठमाडौंबाट विभिन्न जिल्लाका लागि हिजो साँझमा छुटेका र विभिन्न जिल्लाबाट काठमाडौंका लागि छुटेका लामो दूरीका सार्वजनिक बसका साथै ढुवानी सवारी साधन, विरामी बोकेका एम्बुलेन्ससमेत ओहोर दोहोर गर्न नपाएर बीच बाटोमै अलपत्र परेका छन् । पहिरो गएका कारण दशैंमा घर जान चाहने हजारौं यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

 

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।पहिरो शनिबार बिहान १० बजेसम्म हटाउन सकिएको छैन । सडक विभागका अनुसार पहिरो पन्छाउन डोजर परिचालन गरिए पनि अझै माथिबाट पहिरो गइरहेको छ । विभागले शनिबार दिउँसोसम्म पहिरो पन्छाउने गरी काम भइरहेको जनाएको छ ।