तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

२०८३ जेठ ०४ गते

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल गरेको छ । प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । नेपाल–भारत खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी हुने संवेदनशील नाकाहरूमा प्रहरीले सक्रियता बढाएपछि ठूलो परिमाणमा अवैध सामान र गाडीहरू नियन्त्रणमा लिन सफल भएको हो ।

 

Advertisement:

Ad
Ad

प्रहरीले जिल्लाका विभिन्न सीमा नाकाहरूबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान तथा अन्य विविध सामग्रीहरू बरामद गरेको छ । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यलय गौरमा बुझाएको हो । सामान ओसारपसार र तस्करी कार्यमा संलग्न रहेका १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको मासिक तथ्याङ्कमा उल्लेख छ ।

 

यस्तै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका अपराधीहरूलाई पक्राउ गर्न रौतहट प्रहरीले विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार बैशाख महिनामा मात्रै ५७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको कुल १७ वर्ष २८ दिन कैद भुक्तान गराउने प्रक्रिया अघि बढाइएको छ । साथै, उनीहरूबाट ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना समेत असुल उपर गरी राजस्वमा दाखिला गरिएको प्रहरी प्रमुख एसपी रिजालले जानकारी दिए ।जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक गतिविधिमाथि अंकुश लगाउने क्रममा बैशाख महिनाभित्र विभिन्न प्रकृतिका थुप्रै मुद्दाहरू दर्ता भएका छन् । प्रहरीको आधिकारिक प्रतिवेदन अनुसार सामाजिक अपराध ४१ वटा मुद्दा (सबैभन्दा बढी),संगठित तथा आर्थिक अपराधका १९ वटा मुद्दा, चोरी सम्बन्धी ७ वटा मुद्दा,आत्महत्या ६ वटा मुद्दा, ज्यान सम्बन्धी ५ वटा मुद्दा र महिला तथा बालबालिका सम्बन्धीः ४ वटा मुद्दा दर्ता भएको विवरण छ।

 

प्रहरीका अनुसार कर्तव्य ज्यान, अवैध हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर तथा ठगी जस्ता जघन्य र गम्भीर प्रकृतिका मुद्दाहरूमा समेत सूक्ष्म अनुसन्धान भइरहेको छ । पछिल्लो समय बढ्दै गएको आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरमा ९ वटा र ठगीका ९ वटा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छ । प्रहरीले अपराध अनुसन्धान मात्र नभई सामाजिक र घरायसी विवाद समाधानमा पनि सक्रियता देखाएको छ । अपराध कम गर्न जनचेतना कार्यक्रम अन्तरगत रौतहट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लाई पनि सँगसँगै अगाडि बढाएको छ । बैशाख महिनाभर जिल्लाका विभिन्न स्थानहरूमा ४१ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।