टंगालको भाटभटेनी सुपर मार्केट आजबाट सञ्चालनमा

२०८३ असोज ०५ गते

टंगालको भाटभटेनी सुपर मार्केट आजबाट  सञ्चालनमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आएको छ।सोमबार बिहानदेखि सञ्चालनमा आएको स्टोरलाई बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो। पुनः सञ्चालनको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङसमेत स्टोरमा पुगेका थिए।

 

Advertisement:

Ad

भदौ २४ गतेको आगजनीबाट स्टोरमा ठूलो क्षति पुगेपछि भाटभटेनीले पुनर्निर्माणलाई तीव्रता दिएको थियो। पुनर्निर्माण सम्पन्न भएसँगै टंगाल स्टोरलाई पुरानै शैलीमा सेवामा फर्काइएको हो।

 

कम्पनीका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टंगालसहित १० वटा स्टोर सञ्चालनमा आइसकेका छन्। दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

 

ठूलो भौतिक क्षति व्यहोर्नुपरे पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ। कठिन परिस्थितिमा समेत कर्मचारीलाई सेवाबाट अलग नगरेको र दसैं बोनससमेत कटौती नगरेको कम्पनीको भनाइ छ।

 

पुनर्निर्माणमा खटिएका कर्मचारी, सहयोगी संस्था, ग्राहक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा र सहज किनमेलको वातावरणलाई निरन्तरता दिने जनाएको छ।

 

टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकले दैनिक उपभोग्य वस्तुसहित भाटभटेनीका नियमित सेवा पुनः प्राप्त गर्ने भएका छन्।