२०८३ असोज ०५ गते
जुम्ला । जुम्लाबाट सुर्खेततर्फ गएको स्याउ बोकेको मालवाहक ट्रक दुर्घटना हुँदा लाखौँको स्याउ तिला नदीमा बगेको छ । आइतबार दिउँसो ३ बजे तिर जुम्लाको तातोपानी गाउँपालिका वडा नं। १ राँकाबाट ४५० स्याउका कार्टुन बोकेर गएको बा।प्र।०१००६ ख ८७३० नम्बरको ट्रक कालिकोटको तिला गुफा नगरपालिका वडा नं। १ स्थित भिग्ममा दुर्घटना भएको हो ।
अनियन्त्रित भई ट्रक भिग्म स्थित तिला नदी छेउमा पल्टिँदा लाखौँको स्याउ नदीमा बगेका छन् । नदी किनारमा खसेका सबै काम नलाग्ने भएको तातोपानी गाउँपालिका वडा नं। १ का अध्यक्ष कर्ण बहादुर कठायतले बताए। राँका गाउँभरिका किसानको स्याउ सङ्कलन गरी विक्रीका लागि लिइएको अवस्थामा तिला नदी छेउमा ट्रक दुर्घटना हुँदा लाखौँको क्षति भएको कठायतले जानकारी दिए।
‘ट्रकमा ४५० स्याउका कार्टुन लोड गरिएको थियो’ उनले भने,‘ट्रक भित्र छोरा बसेको रहेनछ । ठुलो दुर्घटना हुनबाट जोगियो । लाखौँको स्याउ खेर गए पनि ज्यान जोगियो, यसमै चित्त बुझाएका छै । कर्णाली राजमार्गको दुरावस्थाले दशा लाग्यो । एक लेनको साँघुरो सडकमा यात्रा गर्नै कठिन रहेको छ । यसमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’
४५० कार्टुनमध्ये अधिकांश स्याउका कार्टुन तिला नदीमा बगिसकेका छन् भने मुस्किलले १० प्रतिशत स्याउ पनि काम नलागेको वडाध्यक्ष कठायतले जानकारी दिए । उनका अनुसार झण्डै ८ लाख भन्दा बढीको क्षति भएको छ । धेरै किसानको पैसा दिन बाँकी नै छ । तर, बजारमा स्याउ पुग्नै नपाई बाटोमै खेर गएपछि आम्दानी भन्दा पनि लगानी उठाउन कठिन भएको उल्लेख गरे ।
प्रतिक्रिया