२०८२ फागुन २० गते
काठमाडौँ । निर्वाचनको अघिलो दिन आज काठमाडौँ शहरका मूख्य चोक र सडकहरु खाली देखिएका छन् । भोलि फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो मतदानस्थल रहेका गाउँघर फर्किनेका कारण सडकमा गुड्ने सवारी नहुँदा सडक सुनसान भएका हुन् ।
निर्वाचनलाई सहज बनाउने हिसावले सरकारले आज २० गतेदेखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिएको छ । स्कुल कलेज तथा कार्यालयहरु बन्द हुँदा सडकमा गुड्ने निजी तथा सरकारी गाडीहरु निकै कम मात्र देखिएका छन् । त्यस्तै रुटमा चल्ने सार्वजनिक यातायातका सवारीसाधन निर्वाचन प्रयोजनका लागि रिजर्भ भई गाउँगाउँ पुगेका छन् ।लैनचौर,दरबारमार्ग,पुतलीसडक,जमल,रत्नपार्क जस्ता अति नै ब्यस्त हुने सडकमा फाट्टफुट्ट मात्र सवारी साधन गुडेको भेटिएको छ । चोकमा खटिने ट्राफिकलाई निर्वाचन प्रयोजनमा जिल्ला जिल्लाका मतदानस्थलमा खटाइँदा चोकका सवारीसाधन ब्यवस्थापनको जिम्मेवारी निर्वाचन प्रहरीलाई दिइएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि सृजित विशेष परिस्थितमा हुन लागेको २१ गतेको प्रतिनिधीसभा सदस्य निर्वाचनलाई विशेष चासोका रुपमा आम सर्वसाधारणले हेरेका छन् । मतदान गरेर आफूले इच्छाएको उम्मेदवारलाई भोट दिन हालसम्म ५ लाखको हाराहारीका मानिसहरुले उपत्यका छाडेको यातायात व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया