२०८३ भदौ ०४ गते
काठमाडौँ । श्रावण महिनामा परीक्षण गरिएका तरकारी तथा फलफूलका कुनै पनि नमुनामा प्रतिकूल मात्रामा जीवनाशक विषादी भेटिएको छैन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८३/८४ को श्रावण १ गतेदेखि ३१ गतेसम्म तरकारी तथा फलफूलमा जीवनाशक विषादी परीक्षण गरिएको थियो। विभाग तथा मातहतका प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र विभिन्न नाकामा रहेका खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमार्फत परीक्षण गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उक्त अवधिमा ५ हजार ४२२ वटा नमुना परीक्षण गरिएको थियो। द्रुत विषादी परीक्षण विधि (RBPR) तथा Gas Chromatography Mass Spectroscopy-Mass Spectroscopy (GCMS-MS) विधिबाट परीक्षण गरिएको विवरणमा उल्लेख छ। परीक्षणको नतिजामा श्रावण महिनामा ५ हजार ४२२ नमुनामध्ये कुनै पनि नमुना प्रतिकूल नभएको र ५ हजार ४२२ नमुना अनुकूल रहेको देखिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सबैको जानकारीका लागि उक्त परीक्षण विवरण सार्वजनिक गरेको हो। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले भदौ ४ गते विवरण सार्वजनिक गरेकी हुन्।
प्रतिक्रिया