२०८२ साउन २७ गते
काठमाडौँ । सेयर बजारको राम्रो विश्लेषण गर्ने भन्दै भ्रममा पारेर एप्स् डाउनलोड गर्न लगाई एक व्यक्तिको २८ लाख ६१ हजार ठगी भएको घटना सार्वजनिक भएको छ ।
जोन नाम गरेका व्यक्तिले आफू ठगीमा परेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो ।जोनले शुरुमा फेसबुकमार्फत सेयर बजारको राम्रो विश्लेषण गरी प्रतिफल दिने एप भन्दै नेप्से एआई नामक एप्स् डाउनलोड गर्न पुग्छन् । एप्स् खुलेपछि त्यसको रिमोट सेक्सनमा गएर जव जोनले क्लिक गर्छन् लगत्तै उनको मोबाइलको स्क्रिन कालो हुन पुग्छ, उतिखेरै उनको विभिन्न बैंकमा रहेको २८ लाख ६१ हजार गायब हुनपुग्छ । ठगी गर्नेहरुले उनको बैंकबाट सबै रकम अन्यत्रै सारेर एकाएक सबै डाटाहरु डिलेट गरिदिन्छन् ।
यो घटनापछि साईबर ब्यूरामो उजुरी दिन पुगेका जोनले आफू ठगीमा परेको र अरुलाई समेत सचेत गराउन आग्रह गरेसँगै साइबर ब्यूरोले मंगलबार एक सूचना जारी गर्दै फेसबुक लगायत सामाजिक सञ्जालमा नेप्से एआई नामक एप्स् नखोल्न आग्रह गरेको छ ।
केहि दिन यता सामाजिक संजाल फेसबुक, टिकटक,इन्स्टाग्राम लगायत मा नेप्से एआई नामक एप्स डाउनलोड गर्न आग्रह गरिँदै केही लिंकहरु आइरहेका छन् । ब्यूरोले एआईले शेयर बजारको विश्लेषण गरी बढी भन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप्स डाउनलोड गर्न प्रेरित गरी सर्वसाधारणलाई ठगी गरिरहेको र सचेत हुन आग्रह गरेको छ ।
साथै ब्यूरोले टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, बेला बेला पासवर्ड परिवर्तन गर्न,आधिकारिक स्रोतबाट मात्र एप्स् डाउनलोड गर्न र जथाभावी आफ्नो मोबाइल वा डेस्कटप अरुलाई प्रयोग गर्न नदिन सचेत गराएकोछ ।
प्रतिक्रिया