२०८३ वैशाख २९ गते
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि साना–साना आयोजना बोकेर बजेट माग्न आइरहेको जनाएका छन्।
मंगलवार अर्थसमितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले अहिले पनि सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, खानेपानी, सिंचाई तथा अन्य खुद्रा योजनाका लागि बजेट माग आइरहेको गुनासो गरेका हुन्।
अहिलेको अभ्यासअनुसार कुनैपनि आयोजना सम्बन्धित मन्त्रालयबाट प्रस्ताव भएर मात्रै अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा आउने व्यवस्था रहेको स्पष्ट पारे।वाग्लेले संघीय बजेट अब ठूला नीतिगत प्राथमिकता, १६ औँ आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा शासकीय सुधारको रोडम्यापसँग मेल खाने योजनामा आगामी बजेट केन्द्रित हुने बताए।
सांसदहरूले उठाएका मागलाई साधन–स्रोतको सीमाभित्र रहेर न्यायोचित रूपमा सम्बोधन गर्ने प्रयास भइरहेको पनि उल्लेख गरे।
धेरै साना तथा स्थानीय प्रकृतिका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्नुपर्ने भएकाले संघीय बजेटमा समेट्न कठिन हुने गरेको छ । यद्यपि मन्त्रालयहरूले सांसदहरूले पठाएका प्रस्ताव र सुझावहरूलाई कुन हदसम्म संघीय बजेटमा समावेश गर्न सकिन्छ भन्नेबारे अभ्यास गरिरहेको उनले जानकारी दिए।
वाग्लेले अगाडि भने, ‘सांसदहरू मसित व्यक्तिगत रूपमा पनि, समूहगत रूपमा पनि आएर भेटघाट गरिराख्नुभएको छ । यद्यपि मैले के स्पष्ट पारेको छु भने धेरै सांसदज्युहरू बजेट माग्न नै आउनुहुन्छ । नीतिगत कुराहरूभन्दा पनि बजेटकै साना–साना प्रोजेक्टहरुकै माग गरेर आउनुभएको छ।’
अर्थमन्त्री वाग्लेले वैशाख ३१ पछि बजेट निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने र त्यसपछि अर्थ मन्त्रालयले अन्तिम रूप दिने काम तिब्र बनाउने बताए।
बजेट निर्माण अन्तिम क्षणसम्म चल्ने उल्लेख गर्दै उनले जेठ १५ गते बजेट प्रस्तुत हुने दिन मध्यरातसम्म समेत बजेट लेख्ने काम जारी रहने अनुभव सुनाए।
उनले वर्तमान सरकारले बजेट प्रक्रिया शुरु भइसकेपछि जिम्मेवारी सम्हालेकाले परामर्श र तयारीका लागि समय केही कम भएको स्वीकार गर्दै पनि सांसदहरूका चासो र सुझावलाई सकेसम्म समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए।
प्रतिक्रिया