२०८३ साउन १० गते
काठमाडौँ । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। नेपालको सडक पूर्वाधारमा नयाँ अध्यायका रूपमा हेरिएको यो परियोजनाले राजधानी प्रवेश र बाहिरिने यात्रालाई थप सुरक्षित, छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।
नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यस आयोजनामा करिब रु. १९ अर्ब खर्च भएको छ। सडक विभागका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित सुरुङ संरचनाको कुल लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ। जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले वि.सं. २०७६ मा निर्माण सुरु गरेको यो आयोजना अब सञ्चालनको चरणमा पुगेको हो।
उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङमार्गको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटनपछि भने तत्काल सबै सवारीसाधनलाई प्रवेश दिइने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्रै सञ्चालनको अनुमति दिइने सडक विभागले जनाएको छ।
विभागका अनुसार उद्घाटन भएको एक साताभित्र सुरुङभित्र हुन सक्ने आगलागी वा अन्य आकस्मिक अवस्थाको तयारीका लागि ‘मक ड्रिल’ सञ्चालन गरिनेछ। त्यसपछि केही दिन परीक्षणका रूपमा एकतर्फी सवारी सञ्चालन गरी जेट फ्यान, हावाको प्रवाह तथा अन्य सुरक्षा प्रणालीको प्राविधिक परीक्षण गरिनेछ। सबै परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना विभागको छ। सुरुङमार्गमा मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ भने अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले निर्माण अवधिमा आएका प्राविधिक चुनौती र स्थानीयस्तरका जटिलता समाधान गर्दै आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए। उनका अनुसार यो परियोजनाले नेपालले आधुनिक सुरुङमार्ग निर्माण गर्न सक्ने प्राविधिक क्षमता र अनुभव दुवै प्रमाणित गरेको छ। नागढुङ्गाको घुमाउरो, उकालो र पहिरोको जोखिमयुक्त सडकको विकल्पका रूपमा निर्माण गरिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं आवतजावतको समय घट्ने, यात्रा थप सुरक्षित हुने र यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया