२०८२ चैत १९ गते
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा बिहीबार विशेष समारोह सम्पन्न भएको छ ।
प्रत्येक वर्ष चैत २० गते देशभर विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने परम्परा अनुरूप यस वर्ष “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित दिवस मनाइदै छ । कार्यक्रमकोउद्घाटन महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले गरेका थिए । बडालले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताए । त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनका अनुसार सहकारीहरूले करिब ८० प्रतिशत घरपरिवारलाई समेट्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएका छन् । केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उहाँले करिब १०० देखि २०० सहकारीमा विचलन आएको जानकारी दिए । साथै, सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष रमेश पोखरेलले सप्ताहव्यापी रूपमा सहकारी दिवस मनाइएको र यसले प्रभावकारी सन्देश प्रवाह गरेको बताए। कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले यस वर्षको नारामाथि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सल्लाहकार तथा पूर्व मन्त्री गणेश शाह, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा लगायतले मन्तव्य राखेका थिए। महासंघका उपाध्यक्ष डिवी बस्नेतले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रम सञ्चालन प्रेम सुवेदीले गरेका थिए । सो अवसरमा ‘सहकारी सन्देश’ कोशी विशेषांकको विमोचन समेत गरिएको थियो ।
राष्ट्रिय सहकारी पुरस्कारबाट ऋषिराज घिमिरे सम्मानित हुने
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०८२ बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गर्ने घोषणा गरेको छ । महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेमबहादुर पाठकले विभिन्न विधामा पुरस्कृत हुने संस्था तथा व्यक्तित्वहरूको घोषणा गरे । उत्कृष्ट सहकारी पुरस्कारबाट झापा जिल्ला सहकारी संघलाई सम्मान गरिने भएको छ । सातै प्रदेशबाट उत्कृष्ट सहकारी छनोट गरिएको छ । जसअनुसारःकोशी प्रदेशबाट मेचीनगर साकोस, मधेश प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था, बर्दिबास, बागमती प्रदेशबाट महिला मिलन साकोस, मकवानपुर छनोट भएको छ ।
गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी, बाँके, सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी, बाजुरा छनोट भएको पाठकले बताए । उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराई सम्मानित हुनेछिन् ।
सहकारी पत्रकारिता पुरस्कारबाट सुनौलो नेपाल डटकमकी प्रदेश ब्युरो प्रमुख चिना थापा सम्मानित हुने घोषणा गरिएको छ । यी सबै पुरस्कारहरू अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।
प्रतिक्रिया