२०८३ जेठ ०८ गते
काठमाडौँ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ६१ दिनका लागि उक्त रकम बजारबाट तान्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि आज जेठ ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली (OBSS) मार्फत आवेदन दिन सकिनेछ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् । सर्वसाधारणले भने प्रत्यक्ष आवेदन दिन पाउने छैनन् ।
राष्ट्र बैंकले संकलन गर्न लागेको निक्षेपको अवधि ६१ दिन तोकिएको छ । यसको साँवा तथा ब्याज आगामी साउन ६ गते भुक्तानी गरिने जनाइएको छ ।
बोलकबोलमार्फत नै ब्याजदर निर्धारण हुनेछ । कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल १०० अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । यो निक्षेप अवधि पूरा हुनुअघि फिर्ता नहुनेछ । तर, बैंक तथा वित्तीय संस्थाले यसलाई अन्य संस्थामा धितोका रूपमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकिङ प्रणालीमा लगानी हुन नसकी नगद बढी थुप्रिएपछि ब्याजदर स्थिर राख्न तथा मुद्रा व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्ता उपकरण प्रयोग गर्दै आएको छ । सरल रूपमा बुझ्दा राष्ट्र बैंकले केही समयका लागि बजारबाट पैसा तानेको मानिन्छ ।यससम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया