२०८३ असार ०३ गते
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले सरकारले विनियोजन गरेको बजेट समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
उनले बजेट वितरणमुखी मात्र नभई कार्यान्वयनमुखी हुनुपर्ने उल्लेख गर्दै विनियोजित रकम निर्धारित समयमा खर्च हुन सके मात्रै अर्थतन्त्रले अपेक्षित गति लिन सक्ने बताए।
मल्लले बजेटमा डिजिटल सेवासम्बन्धी कार्यक्रमहरू समावेश गरिएकाले त्यसले नेपालमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले कर प्रणालीलाई थप व्यवस्थित बनाउन प्यान कार्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।
ऊर्जा क्षेत्रको चर्चा गर्दै उनले विद्युत् क्षेत्रमा पाँच प्रतिशत कर लागू गरिनु सकारात्मक भएको उल्लेख गरे।यद्यपि वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्लाई प्रभावकारी रूपमा उपयोग गर्न सके उपभोक्ताले सस्तो मूल्यमा बिजुली पाउने र उद्योग व्यवसायको लागतसमेत घट्ने उनको भनाइ थियो।
प्राकृतिक स्रोतको सदुपयोग गर्दै व्यावसायिक तथा आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिँदै मल्लले यसबाट समग्र अर्थतन्त्रलाई सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया