पाथीभरा पदमार्गमा स्वचालित सोलार बत्ती जडान

२०८३ भदौ २४ गते

पाथीभरा पदमार्गमा स्वचालित सोलार बत्ती जडान

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्मको पदमार्गमा राखिएको हो । 

 

Advertisement:

Ad
Ad

भारतको सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गर्दै आएका सरोज लामा र नवलकिशोर मिश्रले पाथीभरा क्षेत्र विकास समितिलाई निःशुल्क रूपमा उक्त बत्ती उपलब्ध गराएका हुन् । हिउँदमा दर्शनका लागि आएका बेला पदमार्गमा अँध्यारोका कारण तीर्थयात्रीले सास्ती खेप्नुपरेको देखेपछि उनीहरूले बत्ती उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही वाचा अनुसार समितिले बत्ती प्राप्त गरी जडान सम्पन्न गरेको हो । 

 

जडान गरिएका बत्तीहरू साँझ परेपछि स्वचालित रूपमा बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार बत्ती जडान भएसँगै रातको समय तथा बिहानै यात्रा गर्ने भक्तजनलाई हिँडडुल गर्न निकै सहज हुनेछ ।

 

समुद्र सतहबाट ३ हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा धाममा नेपाल, भारतसहित अन्य मुलुकबाट पनि बर्सेनि ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । विशेषगरी आसन्न दसैँको नवरात्रमा दर्शनार्थीको चाप उच्च हुने भएकाले पदमार्गमा गरिएको बत्तीको व्यवस्थापनले तीर्थयात्रीलाई ठूलो राहत पुग्ने समितिले जनाएको छ ।