एनआरएनएको अध्यक्षमा डाक्टर हेमराज शर्मा निर्वाचित, यस्तो बन्यो टीम (सूचीसहित)

२०८२ चैत ०२ गते

एनआरएनएको अध्यक्षमा डाक्टर हेमराज शर्मा निर्वाचित, यस्तो बन्यो टीम (सूचीसहित)

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।


‘एकता, लगानी र गौरव’ को नारासहित काठमाडौँमा आयोजित यस महाधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर सुरुमा केही अन्योल देखिएपनि अन्ततः प्रमुख आकांक्षीहरूबीचको उच्च समझदारीले संस्थालाई सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

Advertisement:

Ad
Ad

 

जसअनुसार डा हेमराज शर्मा अध्यक्ष चयन भएका छन् । अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष चयन हुने भएका छन् ।

 

अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन भएसँगै सबै पदाधिकारी तहमा सहमतिको आधारमा नेतृत्वको खाका तयार पारिएको छ । उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने, युकेका रामशरण सिम्खडा, कतारका प्रबिन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोज कुमार श्रेष्ठ, रबिन बज्राचार्यलगायत रहेका छन् । यसैगरी, महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) ले निर्विरोध जिम्मेवारी प्राप्त गरेकी छन् भने युवा उपाध्यक्षमा पोर्चुगलका भिमसेन थापा निर्विरोध भएका छन् ।

 

यसैगरी महासचिव पदमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा। चिरञ्जीवी खड्का चयन भएका छन् । यसैगरी उपमहासचिवमा जापानका टंक प्रसाद गैरे, बेलायतका दिनेश कुमार घिमिरे, अस्ट्रेलियाका डा। ज्ञानेन्द्र रेग्मी, जापानका पारसमणि पोखरेल चयन भएका छन्।सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङ चयन हुने सहमति बनेको छ ।

 

महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा ९कञ्चन० तथा कोषाध्यक्ष पदमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन्। यसैगरी सहकोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सहकोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा छिन् ।

 

यसैगरी युवा संयोजकमा जापानका नवीन निउरे चयन भएका छन् भने मध्यपुर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एशिया प्याशिफिक क्षेत्रीय संयोजकमा दिपक कँडेल, युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बु निर्विरोध चयन भएका छन् । क्षेत्रीय तहमा संस्थाको सञ्जाल विस्तार गर्न क्षेत्रीय संयोजकहरूलगायतका सबै पदमा सर्वसम्मत चयन भएको छ । अब प्राविधिक विषय टुंग्याएर सोमबार दिउसो नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने बताइएको छ ।
यसरी चयन भएको नयाँ कार्यसमितिले एनआरएनएभित्रको गुटबन्दी अन्त्य गर्दै विश्वभर छरिएका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने विश्वास गरिएको छ ।

 

महाधिवेशनको समापनसँगै डा. हेमराज शर्माको नेतृत्वमा आएको यो कार्यसमितिले वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या समाधान, नेपालमा लगानी भित्र्याउने वातावरण सिर्जना र नेपाली नागरिकताको निरन्तरता जस्ता मुद्दाहरूमा ठोस काम गर्ने अपेक्षा गैरआवासीय नेपाली समुदायले गरेको छ ।

 

एनआरएनएको १२औँ विश्वसम्मेलन शनिबार राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयनसहित सोमबार सकिनेछ ।