२०८३ जेठ २६ गते
काठमाडौँ। लगातार चौथो कारोबार दिन पनि शेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घट्दै ओरालो यात्रालाई निरन्तरता दिएको छ। यस दिन नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा सीमित भएको हो ।
बजार सूचक घटे पनि कारोबार रकममा भने उत्साहजनक वृद्धि देखिएको छ। अघिल्लो दिन ४ अर्ब ८ करोड रुपैयाँमा सीमित कारोबार मंगलबार बढेर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँ पुगेको छ। ३५७ वटा कम्पनीका १ करोड २३ लाख ८२ हजार कित्ता शेयर ६३ हजार ७३२ पटक खरिदबिक्री भएका छन्। कारोबारका क्रममा सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा पुगेको छ। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशतले उकालो लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयर ७ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत दिशामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.१६ प्रतिशतले घट्दै सर्वाधिक गिरावट हुने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा कृषि विकास बैंकको ८ वर्षे एग्रीकल्चर बण्ड शीर्ष स्थानमा रह्यो। उक्त बण्डमा ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको शेयरमा करिब ३६ करोड रुपैयाँको कारोबार हुँदा १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ मा ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। क्षेत्रगत प्रदर्शन हेर्दा १३ मध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहमा गिरावट देखिएको छ। होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह सकारात्मक रहँदा वित्त उपसमूह सबैभन्दा बढी दबाबमा परेको छ। वित्त उपसमूहको परिसूचक १.०१ प्रतिशतले घटेको छ।
प्रतिक्रिया