चुनावअघि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ६ अर्ब २३ करोड

२०८२ फागुन १९ गते

चुनावअघि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ६ अर्ब २३ करोड

काठमाडौँ। चुनावअघिको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको नेप्सेले मंगलबार पनि सोही लय कायम राख्दै उल्लेखनीय वृद्धि दर्ता गरेको हो।

मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा बन्द भएको छ, जुन १.४४ प्रतिशतको वृद्धि हो । बजार बन्द हुँदासम्म कुल ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ३२९ स्टक ६१ हजार ३२९ पटक कारोबारमा आएका छन्।

Advertisement:

Ad
Ad

 

कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको देखिन्छ। बजारमा २५४ कम्पनीको शेयरमूल्य बढ्दा ६ वटाको मात्र घटेको छ भने २ वटा स्थिर रहेका छन्, जसले समग्र बजारमा खरिद चाप बलियो रहेको संकेत गर्छ।

कम्पनीगत प्रदर्शनतर्फ सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने मोलुङ हाइड्रोपावर कम्पनीको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। घटेका स्टकहरूको गिरावटदर भने ३ प्रतिशतभन्दा कम सीमित रहेको छ।

 

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदा ३४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। रिडी हाइड्रोपावर र एसवाई प्यानल नेपाल पनि उच्च कारोबार हुने कम्पनीमा परेका छ न्।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले उकालो लाग्दा बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटनलगायत अधिकांश समूहमा १ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ। व्यापार उपसमूह भने सामान्य ओरालो लागेको छ।

निर्वाचनअघि बजारमा देखिएको यो सकारात्मक प्रवृत्तिले लगानीकर्तामा विश्वास बढेको संकेत गरेको छ।