२०८३ असार १८ गते
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । कम्पनीले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेका बेला उक्त उपलब्धि हासिल गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो । अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए ।
आर्थिक वर्ष २०८१र८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई स्वर्ण पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस सम्मानले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ । अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए । उनले यस उपलब्धिले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी दिएको उल्लेख गरे । साथै उनले कम्पनीका सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।
कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गर्दै लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याइएको । हाल कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ भने हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ ।
नेपाल लाइफले नेपाल सरकारलाई हालसम्म १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ । कम्पनीले इक्रा नेपालबाट ९डबल ए माइनस० क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा पनि आफूलाई स्थापित गरेको उल्लेख गरेको छ ।
हाल नेपालभरका ७७ जिल्लामा १९७ वटा कार्यालय तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले वित्तीय पारदर्शिता, सुदृढ संस्थागत सुशासन र ग्राहकप्रतिको प्रतिबद्धताका आधारमा आफ्नो नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाउँदै आएको जनाएको छ ।
कम्पनीले आगामी दिनमा पनि “विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा”लाई आफ्नो मूल आधार बनाएर नेपाली नागरिकको आर्थिक सुरक्षा तथा समृद्ध भविष्य निर्माणमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया