२०८३ असार ०२ गते
काठमाडौँ । नेपाल र जर्मनीबीच द्विपक्षीय सरकार–सरकार (जीटुजी) विकास सहकार्यसम्बन्धी वार्ता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। असार २ र ३ गते (जुन १६–१७, २०२६) सम्म सञ्चालन हुने वार्तामार्फत दुवै देशले नेपालको राष्ट्रिय विकास प्राथमिकताअनुसार आगामी सहयोगका क्षेत्र तथा वित्तीय सहायताको ढाँचा तय गर्नेछन्।
हरेक दुई वर्षमा आयोजना हुने यो औपचारिक संयन्त्रमार्फत नेपाल र जर्मनीले विकास सहकार्यका प्राथमिकता संयुक्त रूपमा निर्धारण गर्दै आएका छन्।
नेपाल–जर्मनी सहकार्यअन्तर्गत स्वास्थ्य, ऊर्जा तथा आर्थिक विकासका क्षेत्रमा विशेष जोड दिइएको छ। स्वास्थ्य क्षेत्रमा सुरक्षित अस्पताल निर्माण, मातृ तथा शिशु स्वास्थ्य सेवाको सुदृढीकरण तथा स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउने कार्यक्रममार्फत विपन्न तथा संवेदनशील समुदायसम्म सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस्तै, ऊर्जा क्षेत्रमा स्वच्छ खाना पकाउने प्रविधिको प्रवर्द्धन, किसानका लागि सौर्य सिँचाइ प्रणालीको विस्तार तथा स्थानीय नागरिकको सहभागितामा नगरपालिकास्तरीय ऊर्जा योजना निर्माणमा सहयोग गरिनेछ।
आर्थिक विकासतर्फ वित्तीय सेवामा पहुँच वृद्धि, बजारका अवसर विस्तार तथा सार्वजनिक प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
विश्वव्यापी परिवेश परिवर्तन भइरहेका बेला नेपाल–जर्मनी साझेदारीले विश्वास, साझा उद्देश्य र दीर्घकालीन प्रतिबद्धताका आधारमा नेपाली जनताको जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा लगानी र सहकार्यलाई निरन्तरता दिएको जनाइएको छ।
प्रतिक्रिया