पर्यटकको सहज यात्राका लागि एनसेल र नाटोबीच सहकार्य

२०८३ असोज ०४ गते

पर्यटकको सहज यात्राका लागि एनसेल र नाटोबीच सहकार्य

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउन एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच सहकार्य भएको छ।

 

Advertisement:

Ad

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

 

समझदारीअनुसार एनसेलले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। नाटोले भने आफ्नो देशव्यापी ट्राभल अपरेटर सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ।

 

नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा यात्रा गर्दा परिवार, साथीभाइ तथा आफन्तसँग निरन्तर सम्पर्कमा रहन पर्यटकलाई सहज बनाउने उद्देश्य सहकार्यको रहेको छ। एनसेलले यस पहलले आफ्नो ‘नेपाल कलिङ’ अभियानलाई समेत प्रवद्र्धन गर्ने जनाएको छ।

 

कार्यक्रममा एनसेलका दत्ता र नाटो अध्यक्ष श्रेष्ठले पर्यटनको अनुभवलाई सहज र प्रभावकारी बनाउन सञ्चार सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।यस सहकार्य दूरसञ्चार सेवामा मात्र सीमित रहने छैन। एनसेलले आफ्नो सीएसआरअन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गमा आधुनिक वाश (खानेपानी, सरसफाइ तथा स्वच्छता)पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ।

 

यसअन्तर्गत धादिङको गजुरीबाट पाइलट परियोजना सुरु गरिनेछ। राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकसँगै स्थानीय समुदायलाई समेत सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको सुविधा उपलब्ध गराउने उद्देश्य यस परियोजनाको रहेको छ।

 

एनसेल र नाटोले यस सहकार्यलाई नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकाससँग जोडिएको पहलका रूपमा अघि बढाउने जनाएका छन्।