२०८२ असोज ११ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल–चीन सीमास्थित कोरला नाकाको अवस्था तथा यसको सम्भाव्यताको अध्ययन र अवलोकनका लागि मुस्ताङको जोमसोम पुगेका अध्यक्ष ढकालले गण्डकी प्रदेश तथा स्थानीय उद्योगी व्यवसायीहरुसंगको अन्तरक्रिया तथा छलफलका क्रममा सो धारणा राखेका हुन् ।
कालीगण्डकी करिडोरको निर्माण कार्य पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने भएकाले सो नाकालाई पर्यटन तथा आर्थिक अवसरका रूपमा विकास गर्न सकिने उनको धारणा थियो ।
“ कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक अवसरका रूपमा यो नाकाको विकास गर्न सकिने हाम्रो विश्वास छ । उनले भने, करिडोरको निर्माण छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायहरूसँग म आग्रह गर्दछु । यसमा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य प्रति महासंघ प्रतिबद्धता छ । ”
जोमसोममा स्थानीय व्यवसायीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष ढकालले स्थानीय उत्पादनहरूको बजारीकरण गर्न आग्रह गरे । उनले यस कार्यका लागि महासंघ सहयोग गर्न तयार रहेको बताए । सो क्रममा महासंघका अध्यक्ष ढकाल सहित गण्डकी प्रदेश अध्यक्ष प्रदेशअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको टोली जोमसोम पुगेको हो ।
सोही अवसरमा आयोजित भेलाले राजु प्रसाद लालचलको अध्यक्षतामा मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति पनि गठन गरिएको छ । समितिको सचिवमा तिलक वि।क।,कोषाध्यक्षमा विष्णु शेरचन सदस्यहरुमा गणेश शेरचन, योगेश शेरचन,विनोद विसी र निशान तुलाचन रहेका छन् ।
यस्तै भेलाले जिल्ला अन्तरर्गतका चारवटा पालिकाका एक एक जना प्रतिनिधिलाई सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको छ । तर्दथ समितिलाई बधाई तथा शुभकामना दिंदै अध्यक्ष ढकालले व्यवसायिहरुका हित तथा स्थानीय उत्पादनको बजाकिरण गर्दै अर्थतन्त्र चलायममान बनाउन तर्दथ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताए ।
प्रतिक्रिया