ऊर्जा क्षेत्रमा नयाँ फड्को : माथिल्लो त्रिशूली–१ को वियर गेट सञ्चालन सफल

२०८३ जेठ १४ गते

ऊर्जा क्षेत्रमा नयाँ फड्को : माथिल्लो त्रिशूली–१ को वियर गेट सञ्चालन सफल

काठमाडौँ ।  २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माण भइरहेको आयोजनामा तीनवटा वियर गेटमध्ये एकवटाको जडान तथा परीक्षण सम्पन्न गरिएको हो ।

वियर गेटले नदीको बहाव नियन्त्रण गरी विद्युत उत्पादनका लागि पानी सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानी सुरक्षित रूपमा निकास गर्ने काम गर्छ ।

Advertisement:

Ad
Ad

आयोजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ९.५ किलोमिटर मुख्य सुरुङ तथा २९२ मिटर ठाडो सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने विद्युतगृहमा उपकरण जडान कार्य जारी रहेको छ ।

सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड युनिटभन्दा बढी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।