२०८३ जेठ १४ गते
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको जेनजी घटनासँगसम्बन्धि प्रतिवेदनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसले जुनसुकै ओहोदामा रहेका व्यक्तिहरूमाथि कारबाही हुनुपर्ने माग गरेको छ।
बिहीबार पार्टी प्रवक्ता देवराज चालिसेको विज्ञप्ति जारी गर्दै आयोगले सिफारिस गरेअनुसार जुनुकुै ओहोदामा भए पनि कुनै राजनीतिक संरक्षण वा दलगत पहुँचविना कडा कारबाही गर्नुपर्ने माग गरेको हो।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित १७ जना सांसद छानबिन गर्न सिफारिस गरेको छ। भदौ २३ २४ गते जेनजी घटना हुने समयका तत्कालीन सरकार प्रमुख, नेपाली सेना, प्रहरी र अन्य अधिकारीहरूमाथि पनि आयोगले छानबिन गर्न सिफारिस गरेको छ।
यही सन्दर्भमा कांग्रेसले जुनसुकै ओहोदामा बसेका व्यक्तिहरूमाथि पनि कारबाही हुनुपर्ने माग गरेको छ। ‘शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, अनि निर्दोष नागरिकको ज्यान लिने वा लुटपाट गर्ने जुनसुकै ओहोदामा भए पनि कुनै राजनीतिक संरक्षण वा दलगत पहुँचविना कडा कारबाही हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ।
सरकारले कारबाहीका लागि सर्वस्वीकार्य विधि चयन गरी निष्पक्ष व्यवहार गर्दै मुलुकको अपराध संहिता अनुसार कारबाही हुने वातावरण मिलाउनु पर्ने पनि कांग्रेसले भनेको छ।
प्रतिवेदनले राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा गरिएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लंघन भनेकोले दोषी देखिएका व्यक्तिहरूलाई संवैधानिक परिधिभित्र रही कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने माग गरेको छ।
प्रतिक्रिया