मध्यरातमा जव सिंहदरबारमा देखिए अर्थमन्त्री...

२०८३ जेठ १४ गते

मध्यरातमा जव सिंहदरबारमा देखिए अर्थमन्त्री...

काठमाडौँ । रातिको पौने १ बजिसकेको थियो। सिंहदरबारका अधिकांश भवन अन्धकार थिए । तर अर्थ मन्त्रालय भने जागै थियो ।

 

Advertisement:

Ad
Ad

मन्त्रालयको मूल भवनबाट कर्मचारीहरू एकपछि अर्को गर्दै बाहिर निस्किरहेका थिए । कसैको हातमा बाक्ला फाइल थिए, कसैको काँधमा ल्यापटपको झोला । कोही मोबाइलमा चर्को स्वरमा कुरा गर्दै थिए भने कोही हतारिँदै पार्किङतर्फ दौडिरहेका थिए । ठीक त्यही भीडको बीचबाट अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बाहिरिए हातमा झोला, अनुहारमा थकानभन्दा बढी गम्भीरता ।

 

हरेक वर्ष जेठ १५ नजिकिँदै जाँदा सिंहदरबारको रफ्तार फेरिन्छ । तर यसपटक अर्थ मन्त्रालयभित्रको माहोल केही फरक देखिएको कर्मचारीहरू बताउँछन् । कारण हुन् अर्थमन्त्री स्वर्णिम वाग्ले ।

 

'पहिलेका अर्थमन्त्रीहरूले बजेट लेखन समितिले तयार गरेको ड्राफ्ट हेरेर सुझाव दिने गर्नुहुन्थ्यो,' अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, “तर अहिले उहाँ आफैं ड्राफ्टको भाषा, मर्म र संरचनामै बसेर काम गरिरहनुभएको छ ।”

 

उनका अनुसार स्वर्णिम वाग्ले बजेटको ‘साइज’ भन्दा यसको प्रभावकारितामा बढी केन्द्रित छन् । कुन कार्यक्रम किन आवश्यक छ रु कुन योजना केवल नामका लागि राखिएको हो रु कहाँ खर्च कटौती गर्न सकिन्छ रु यिनै प्रश्नमाथि मन्त्रालयभित्र लगातार छलफल भइरहेको छ ।

 

त्यसैले यसपटक बजेटमा निर्मम कैंची चल्न सक्ने चर्चा मन्त्रालयभित्र बाक्लिएको छ । विभिन्न मन्त्रालयलाई अर्थमन्त्रीले आफ्नो कार्यक्रमको औचित्य पुष्टि गर्न भनिरहेका छन् । लोकप्रिय भन्दा आवश्यक कार्यक्रमलाई प्राथमिकता दिने संकेत उनले सार्वजनिक मंचबाट समेत दिइसकेका छन् ।मन्त्रालयका ती अधिकारीका अनुसार स्वर्णिमको काम गर्ने शैलीले कर्मचारीहरूलाई समेत चकित बनाएको छ ।

'उहाँ बिहानै मन्त्रालय आउनुहुन्छ, राति अबेरसम्म बस्नुहुन्छ,' ती अधिकारी भन्छन्, 'हामीलाई ५/५ वटा नयाँ आइडिया माग्नुहुन्छ । अनि प्रत्येक सुझावलाई निकै सूक्ष्म ढंगले विश्लेषण गर्नुहुन्छ ।'

राजस्व प्रणाली र अर्थतन्त्रबारे उनको गहिरो बुझाइले बजेट लेखन समितिलाई पनि थप दबाब र ऊर्जा दुवै दिएको कर्मचारीहरूको अनुभव छ । समितिले तयार पारेको मस्यौदामा स्वर्णिम आफैं बसेर टिप्पणी गर्ने, केही अंश फेरि लेख्न लगाउने र प्राथमिकता पुनः राख्न लगाउने गरिरहेका छन् ।

यसबीच खर्च कटौतीमा कडा देखिएका अर्थमन्त्री कर्मचारीको पारिश्रमिकमा भने केही नरम देखिएको चर्चा मन्त्रालयभित्र छ । सीमित स्रोतबीच पनि सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी भइरहेको बुझाइ कर्मचारीहरूमा छ । अहिलेको तलबले दैनिक जीवनयापन सहज नभएको कुरा अर्थमन्त्री स्वयंले पनि स्वीकार गर्ने गरेको अधिकारीहरू बताउँछन् ।

राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा बनेको बजेट लेखन समितिमा सहसचिवहरू धनीराम शर्मा, महेश भट्टराई, शेवन्तक पोखरेल र सुमन दाहाल छन् । औपचारिक रूपमा समितिको नेतृत्व खत्रीले गरिरहेका भए पनि बजेट निर्माणको वास्तविक ‘कप्तान’ स्वर्णिम वाग्ले नै भएको बुझिन्छ ।