रवि-बालेन गगन र केपी कसले कहाँबाट हाल्दैछन् भोट ?

२०८२ फागुन २० गते

रवि-बालेन गगन र केपी कसले कहाँबाट हाल्दैछन् भोट ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अति विशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै छन् ।     

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । 

Advertisement:

Ad
Ad

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

नेपाली काँग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाकाल मतदान केन्द्रबाट मतदान गर्दै छन्। 

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।

पूर्व राष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित बिपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने अर्का पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साबिकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला भए पनि यस पटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्ने छैनन् । 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थलमा नामावली समावेश छ । 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले काठमाडाँैको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्नेछन् । 

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

मुख्यसचिव सुमनराज अर्यालले गोकर्णेश्वर नपा–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा मतदान गर्दै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नेछन्।

यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

 उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्ने सचिवालयले जनाएको छ । 

यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, नेता डा शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्र, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित परोपकार आर्दश मावि ‘क’ मतदान केन्द्र, एमालेका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्र, एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गर्नेछन्।

काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्र, नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्र, नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको ९क० मतदान केन्द्र र एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।

एमाले नेता सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्र, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मतदान केन्द्र र नेकपाका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले काठमाडौँ महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गापाबाट मतदान गर्नेछन् ।