२०८२ फागुन १० गते
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बैंक प्रयोजनका लागि जग्गा रोक्का तथा फुकुवा गर्ने र जग्गाधनी पुर्जा प्रिन्ट गर्ने सेवा अब सम्बन्धित वडा कार्यालयबाटै उपलब्ध गराउने भएको छ। नागरिकलाई जग्गासम्बन्धी सेवा घरदैलोमै सहज रूपमा प्रदान गर्ने उद्देश्यले महानगरले ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको हो।
आइतबार आयोजित एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम ले उक्त सेवाको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा उनले संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ अवधारणाअनुसार स्थानीय तहबाटै सेवा प्रवाह सुदृढ बनाइएको बताए। काठमाडौँ उपत्यकाका अधिकांश नागरिकको मुख्य सम्पत्ति जग्गा जमिन नै भएकाले अब मन्त्रालय वा विभाग धाइरहनु नपर्ने उनको भनाइ थियो।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले ४७औँ कार्यपालिका बैठकको निर्णयअनुसार हाललाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा १० वटा वडाबाट सेवा सुरु गरिएको जानकारी दिइन्। पहिलो चरणमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट सेवा प्रवाह सुरु भएको छ। निकट भविष्यमै महानगरका सबै ३२ वडामा विस्तार गर्ने तयारी रहेको उनले बताइन्।
यो प्रणाली लागू भएसँगै अब बैंक प्रयोजनका लागि जग्गा रोक्का राख्ने तथा फुकुवा गर्ने, राजश्व संकलन, बायोमेट्रिक विवरण लिने, जग्गा किनबेचका लागि तमसुक तयार गर्ने र जग्गाधनी पुर्जा प्रिन्ट गर्ने जस्ता सेवा वडा कार्यालयबाटै प्रदान गरिनेछ।
यसबाट मालपोत कार्यालयमा हुने भीडभाड घट्ने र नागरिकले झन्झटरहित, छरितो र प्रविधिमैत्री सेवा पाउने अपेक्षा महानगरको छ।
प्रतिक्रिया