अड्कियो हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ नियुक्ति प्रक्रिया, सर्वोच्चले भन्यो: प्रक्रिया अघि नबढाउनु

२०८३ भदौ ०८ गते

अड्कियो हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ नियुक्ति प्रक्रिया, सर्वोच्चले भन्यो: प्रक्रिया अघि नबढाउनु

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नियुक्तिका लागि अघि बढाइएको प्रक्रिया तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतले नयाँ सीईओ छनोटसम्बन्धी प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

 

Advertisement:

Ad
Ad

बिमा प्राधिकरणले हिमालयन लाइफका लागि नयाँ सीईओ नियुक्त गर्न दरखास्त आह्वान गरेपछि कम्पनीका वर्तमान सीईओ कपिलकुमार दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले तत्कालका लागि नियुक्ति प्रक्रिया स्थगित गर्न आदेश दिएको हो ।

 

धितोपत्रसम्बन्धी विषयमा अनुसन्धानका क्रममा गत साउन २२ गते हिरासतमा परेपछि दाहाल स्वतः निलम्बनमा परेका थिए । पछि अदालतको आदेशअनुसार धरौटीमा रिहा भए पनि उनको निलम्बनको अवस्था र त्यसपछि सीईओ पद रिक्त मानिने वा नमानिने विषयमा कानुनी विवाद उत्पन्न भएको छ ।

 

यही विषयलाई सर्वोच्च अदालतले गम्भीर कानुनी प्रश्नका रूपमा लिएको छ । निलम्बनमा रहेका व्यक्ति धरौटीमा रिहा भएपछि उनको पदको अवस्था के हुने भन्ने विषयको टुंगो नलागेसम्म नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन उपयुक्त नहुने अदालतको आदेशमा उल्लेख छ ।

 

अदालतले आगामी भदौ १५ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । त्यसअघि बिमा प्राधिकरणले भदौ ३ गते प्रकाशित गरेको सीईओ पदका लागि दरखास्त आह्वानसम्बन्धी सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्चले निर्देशन दिएको छ ।

 

यससँगै हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओ नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ । अब भदौ १५ गते हुने छलफलपछि अदालतले दिने आदेशले दाहालको पदको अवस्था र नयाँ सीईओ नियुक्तिको बाटोबारे थप स्पष्टता दिनेछ ।