२०८३ साउन ०९ गते
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यवस्थापन तहमा महत्वपूर्ण फेरबदलको तयारी गरेको छ। कम्पनीले दुई जना डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ।
कम्पनी स्रोतका अनुसार आइएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिरहेका दिनेश अमात्य र सानिमा बैंकमा वरिष्ठ व्यवस्थापकीय भूमिकामा कार्यरत बिभोर झालाई हिमालयन लाइफको डेपुटी सीईओको जिम्मेवारी दिने तयारी गरिएको हो।
हिमालयन लाइफले व्यवसाय विस्तार, सञ्चालन क्षमता अभिवृद्धि तथा व्यवस्थापकीय संरचनालाई थप सुदृढ बनाउने उद्देश्यले दुई जना डेपुटी सीईओ नियुक्त गर्न लागेको बताइएको छ। दुवै अधिकारी बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव भएका व्यवस्थापकका रूपमा परिचित छन्।
यस्तै, कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पनि प्रक्रिया अघि बढाएको छ। स्रोतका अनुसार सीईओ पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये तीन जनाको नाम अन्तिम छनोट (सर्टलिस्ट) मा परेको छ। तीमध्ये एक जनालाई कम्पनीको आगामी सीईओ नियुक्त गर्ने तयारी भइरहेको बुझिएको छ।
यद्यपि, डेपुटी सीईओ र सीईओ नियुक्तिसम्बन्धी निर्णयबारे कम्पनीले हालसम्म औपचारिक घोषणा भने गरेको छैन। सञ्चालक समितिको स्वीकृतिपछि नियुक्तिसम्बन्धी निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया