महाराजगञ्जमा माइक्रोले एकपछि अर्को गर्दै आठ वटा गाडीलाई दियो ठक्कर, चालकको मृत्यु सात जना घाइते

२०८३ साउन ०९ गते

महाराजगञ्जमा माइक्रोले एकपछि अर्को गर्दै आठ वटा गाडीलाई दियो ठक्कर, चालकको मृत्यु सात जना घाइते

काठमाडौं । राजधानीको महाराजगञ्जमा शुक्रबार साँझ एउटा ईभी माइक्रोबसले एकपछि अर्को गर्दै आठ वटा सवारीसाधनलाई ठक्कर दिँदा माइक्रोबस चालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।


प्रहरीका अनुसार साँझ करिब ७ः१५ बजे काठमाडौं महानगरपालिका–३ स्थित प्रहरी वृत्त महाराजगञ्जअगाडिको सडकखण्डमा बसुन्धाराचोकबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रो अनियन्त्रित भई अगाडि रहेका सवारीसाधनलाई पछाडिबाट ठक्कर दिएको हो।

Advertisement:

Ad
Ad

दुर्घटनामा माइक्रो चालक लमजुङ सिद्धी गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवाल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएकोमा राति ८ः१० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा ईभी स्कुटी चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भई हाल कपन बस्ने ३७ वर्षीय सरोज ढुंगाना, उनकी श्रीमती ३५ वर्षीया बिनिता ढकाल, मोटरसाइकल चालक उदयपुर घर भई हाल धुम्बाराही बस्ने ३३ वर्षीय सूर्य मगर, मोटरसाइकलमा पछाडि सवार ६१ वर्षीय ज्ञानबहादुर सुनुवार, बसमा सवार ३५ वर्षीय गणेशबहादुर शाही र ट्याक्सीमा सवार टोखा नगरपालिका–६ बस्ने ४४ वर्षीया पूर्ण गिरी घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये छ जनाको शिक्षण अस्पताल र एक जनाको मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा दुईवटा बस, दुईवटा ट्याक्सी, दुईवटा मोटरसाइकल, एउटा ईभी स्कुटी र एउटा अर्को ईभी माइक्रोसहित आठ वटा सवारीसाधनमा क्षति पुगेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।