२०८३ भदौ ०८ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजमा नैतिकता, आचरण र इमान्दारीताको आवश्यकता झनै बढेको बताएका छन् ।
सोमबार नेपाल जनप्रशासन संघले आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अरूबाट सिकेर प्रयोग गर्न सकिए पनि नैतिकता र इमान्दारीता व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताए ।

कार्यक्रममा हेमबहादुर मल्ल सम्मान २०८१बाट सम्मानित डा. रामकण्ठ माकजू श्रेष्ठ र २०८२ बाट सम्मानित रामेश्वरप्रसाद खनाललाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनीहरूको सार्वजनिक सेवा र राष्ट्रनिर्माणमा पुर्याएको योगदानको प्रशंसा गरे ।उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन र विश्वव्यापीकरणले प्रशासनका परम्परागत अभ्यास परिवर्तन गरिरहेको भए पनि इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुरानो नहुने बताए ।
राष्ट्रपति पौडेलले सुशासनको मापन आर्थिक विकासबाट मात्र नभई नागरिकले पाउने सहज र गुणस्तरीय सेवा, पारदर्शी निर्णय प्रक्रिया, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार र विधिको शासनबाट समेत हुनुपर्ने बताए ।

उनले दिगो विकासका लागि सक्षम संस्था, दक्ष नेतृत्वसँगै उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृति आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया