२०८३ भदौ ११ गते
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकाशी बाढीले बगाएर ल्याएको शवबाट सुन झिक्नेहरूमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सर्वदलीय बैठकमा गृहमन्त्रीलाई शाहीले त्यता गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको बताए।
उनले भने, ‘यहाँ यत्रो विपद् भइराखेको छ। केही नेपाली दाजुभाइ(दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, व्यक्तिगत फाइदाका लागि लासलाई सम्म नछोड्ने, गृहमन्त्रीलाई मैले अपिल गरेको छु भिडिओमा जोजो देखिएका छन् कारबाही गर्नुस्। हामी नेपालीको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन।’
उनले सङ्कटको बेलामा आफूहरू सरकारको साथमा रहेको बताए।
उनले भने, ‘हामीले गर्नुपर्ने काम राष्ट्रिय ऐक्यबद्धता गरेका छौँ, सरकारको साथमा छौँ। यहाँ कुनै दल छैन, कुनै पार्टी छैन, कुनै व्यक्ति छैन, कुनै समूह छैन। यहाँ नेपाल छ र हामी नेपाली छौँ।’
उनले प्रधानमन्त्री राहत कोषमा सकेको सहयोग गर्न समेत अपिल गरे।
उनले भने, ‘भौतिक रूपमा उपस्थित हुन सक्ने साथीहरू भौतिक रूपमा उपस्थित हौँ, आर्थिक सहयोग गर्नेले आर्थिक सहयोग गरौँ। सञ्चार क्षेत्रले पनि गलत सूचना प्रवाह नगरिदिनुहोला। सत्य र सही सूचनाले मान्छेको जीवन बाच्छ।’
प्रतिक्रिया