२०८२ फागुन २५ गते
काठमाडौँ । भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा धु्रवराज राई विजयी भएका छन्। उनले नेकपा एमालेका सचिव शेरधन राईलाई पराजित गर्दै चुनाव जितेका हुन्। उम्मेदवारी दर्ता गर्नुभन्दा अघिसम्म एमालेको कोशी प्रदेश कमिटीको सदस्य रहेका ध्रुवराजले एमाले महाधिवेशन प्रतिनिधी बन्न रोकेका शेरधन राईलाई पराजित गर्ने मनसायका साथ पार्टी छाडेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई अँगालेका थिए।
शेरधन राईले १४,७५० मत पाउँदा ध्रुवराज राईले १६,६६३ मत ल्याएर जित हासिल गरे। विद्यार्थी राजनीतिबाट उदाएका ध्रुवराज यसअघि टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष पनि बनेका थिए र भ्रष्टाचारविरोधी तथा विकासमुखी नेताका रूपमा चिनिन्छन्।
उनले आफ्नो जितलाई जनताको परिवर्तनको चाहना र काम गर्ने नेतृत्वप्रतिको विश्वासको परिणाम बताएका छन्। संसद्मा पुगेर भ्रष्टाचार नियन्त्रण, बजेटको न्यायोचित वितरण र विकास नपुगेका क्षेत्रमा स्रोत पुर्याउने विषयमा आवाज उठाउने उनको प्रतिबद्धता छ।
प्रतिक्रिया