२०८३ साउन ०४ गते
काठमाडौं । सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम तथा राजनीतिक वृत्तमा आफ्नो नाम जोडेर ूचेक बाउन्सू सम्बन्धी फैलाइएका समाचारप्रति आशिका तामाङले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफू उक्त घटनामा पीडित पक्ष रहेको स्पष्ट पारेकी छन्।
तामाङले सोमबार जारी गरेको स्पष्टीकरणमा सार्वजनिक रूपमा फैलाइएका सूचनाहरू यथार्थपरक नभएको उल्लेख गर्दै आफूले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नभई, आफूले प्राप्त गर्नुपर्ने रकमको चेक अनादर (बाउन्स) भएको दाबी गरेकी छन्।
उनले यस विषयमा आफूले सन् २०२४ मै सामाजिक सञ्जाल तथा विभिन्न अन्तर्वार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै अहिले फेरि भ्रमपूर्ण प्रचार भइरहेको बताएकी छन्।तामाङका अनुसार सम्बन्धित व्यक्तिले आफूलाई तिर्नुपर्ने रकम नतिरेपछि कानुनी प्रक्रियाअनुसार चेक अनादरसम्बन्धी कारबाही अघि बढाइएको हो। उनले वास्तविक पीडित आफू रहेको र सम्बन्धित व्यक्ति अमेरिका रहेको समेत उल्लेख गरेकी छन्।
उनले बैंकिङ कानुनअनुसार चेक अनादर सम्बन्धी मुद्दामा बैंकमा ४५ दिनको प्रतीक्षा अवधि पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै उक्त अवधि पूरा भएपछि मात्रै औपचारिक कानुनी प्रक्रिया अगाडि बढ्ने बताएकी छन्।
स्पष्टीकरणमा उनले सम्बन्धित पक्षले आफूले तिर्नुपर्ने रकमबाट बच्न विभिन्न माध्यमबाट ुमिडिया ट्रायलु गर्ने, मानवअधिकार आयोगसम्म पुगेर विभिन्न दाबी प्रस्तुत गर्ने प्रयास गरेको आरोपसमेत लगाएकी छन्। ती दाबीहरू तथ्यमा आधारित नरहेको उनको भनाइ छ।
तामाङले आफ्नो सचिवालय र आफूलाई लक्षित गरी फैलाइएका भ्रमपूर्ण समाचार तथा प्रचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गर्दै वास्तविक तथ्य बुझेर मात्रै धारणा बनाउन अनुरोध गरेकी छन्।
प्रतिक्रिया