आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब, अधुरा आयोजना प्राथमिकतामा

२०८३ वैशाख २९ गते

आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब, अधुरा आयोजना प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तय गरेको छ। मंगलबार बसेको अर्थ समितिको बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले उक्त जानकारी दिएका हुन्। उपलब्ध स्रोत, खर्चको आवश्यकता र समग्र आर्थिक अवस्थाको मूल्याङ्कनपछि राष्ट्रिय स्रोत अनुमान समितिले बजेटको सीमा निर्धारण गरेको हो। सोही सीमाअनुसार विभिन्न मन्त्रालय तथा सरकारी निकायमा बजेट सीमा पठाइसकिएको छ।

 

Advertisement:

Ad
Ad

सबै मन्त्रालयले मन्त्रालयगत बजेट सूचना प्रणालीमार्फत आफ्ना योजना तथा कार्यक्रम प्रविष्ट गरिसकेका छन्। अहिले अर्थ मन्त्रालयले मन्त्रालयगत प्राथमिकता, खर्च नियन्त्रण र अधुरा आयोजनाका विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ। अर्थ सचिव घनश्याम उपाध्यायले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच आगामी बजेटलाई अझ नतिजामुखी बनाउने तयारी भइरहेको बताए। उनका अनुसार सरकारको ध्यान नयाँ आयोजना थप्नुभन्दा पुराना र अधुरा आयोजना सम्पन्न गर्ने तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनेमा केन्द्रित रहनेछ।

 

खर्च नियन्त्रणका लागि सरकारले ३९ वटा अनावश्यक संरचना हटाइसकेको छ भने ३०० भन्दा बढी दरबन्दी खारेज गरिसकेको उनले जानकारी दिए। साथै, १५ वटा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको र आगामी बजेटमार्फत वित्तीय अनुशासनलाई अझ कडा बनाइने उनले बताए।