‘देशै हल्लाउने’ बिचौलियामाथि अनुसन्धानको त्रासले पूँजीबजार प्रभावित भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

२०८३ असार ०५ गते

‘देशै हल्लाउने’ बिचौलियामाथि अनुसन्धानको त्रासले पूँजीबजार प्रभावित भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारले ल्याएको बजेटका कारण सेयर बजार ‘मुर्झाएको’ आरोप लगाएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसको प्रतिवाद गर्दै पूँजीबजारमा देखिएको बिचलनको एउटा कारण देशव्यापी बिचौलिया नेटवर्कमाथि भइरहेको अनुसन्धान पनि हुन सक्ने बताएका छन्।

प्रतिनिधिसभामा शुक्रबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले केही लगानीकर्ता ‘वेट एण्ड सी’ को अवस्थामा रहेको उल्लेख गर्दै सरकारले इमान्दारपूर्वक काम गर्ने र गरिखाने वातावरण निर्माण गर्न खोजेको बताए।

Advertisement:

Ad
Ad

उनले सरकारले तत्कालीन उतारचढावभन्दा दीर्घकालीन प्रभाव पार्ने नीतिमा जोड दिएको स्पष्ट गर्दै बजेट पनि त्यही उद्देश्यअनुसार ल्याइएको बताए। “हरेक एक–एक घण्टामा स्टक मार्केट इन्डेक्स हेरेर नीति बनाउने होइन, युगौँसम्म प्रभाव पार्ने दिगो नीति निर्माणमा हामी केन्द्रित छौँ,” उनले भने।

अर्थमन्त्री वाग्लेले असल व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बजेट ल्याइएको उल्लेख गर्दै हाल विभिन्न क्षेत्रका अनियमिततामाथि व्यापक अनुसन्धान भइरहेको बताए। उनका अनुसार हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर भइसकेको छ।

“देशै हल्लाउने खालका अनुसन्धानहरू भइरहेका छन्। त्यसको भय र त्रासले केही लगानीकर्तामा अन्योल सिर्जना भएको हुन सक्छ,” उनले भने, “अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा आफू पनि तानिने हो कि भन्ने चिन्ताले केही लगानीकर्ता अत्तालिएको अवस्था हुन सक्छ।”

उनले बीमा, बैंकिङ तथा पूँजीबजारलगायत विभिन्न क्षेत्रमा लामो समयदेखि ‘भित्रभित्रै मक्किएको’ अवस्था रहेको दाबी गर्दै सरकारले सुशासनको पक्षमा निर्मम भएर काम गरिरहेको बताए।

अर्थमन्त्री वाग्लेले प्रारम्भिक लगानीसम्बन्धी नीतिहरूको सकारात्मक परिणाम देखिन थालेपछि लगानीकर्ता र व्यवसायीहरूमा उत्साह थपिने विश्वास व्यक्त गरे। “झण्डै मक्किसकेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने प्रयास भइरहेको छ,” उनले भने, “सरकारको उद्देश्य स्वच्छ र उत्पादनमुखी आर्थिक वातावरण निर्माण गर्नु हो।”